वडा सदस्यको नियन्त्रणमा रहेको ३०० बढी बोरा डीएपी मल बरामद

1200x150_1200x150-01.jpg (1)

धनुषा, साउन ९

धान रोपाइँको मुख्य समयमा किसानले रासायनिक मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघामा लुकाइछिपाइ राखिएको तीन सयभन्दा बढी बोरा डीएपी मल प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार वडासदस्य सुरेश साहले शुक्रबार मध्यराति दुई वटा टेम्पोमा मल अन्यत्र लैजान खोजिरहेको सूचनापछि स्थानीयको सहयोगमा अनुसन्धान गर्दा बाहिरबाट ताल्चा लगाइएको गोदामबाट मल बरामद गरिएको हो।

नौसय बिघा प्रहरी चौकीका इन्चार्ज अजय झाले बरामद मलको स्रोत र वास्तविक परिमाणबारे अनुसन्धान भइरहेको जानकारी दिए। मल इलाका प्रहरी कार्यालय धनुषाधाम पठाइएको छ।

प्रारम्भिक अनुसन्धानमा धनुषाधाम–५ का वडाध्यक्ष इन्दल महतो सञ्चालक रहेको पर्वता कृषि सहकारी संस्थाको दैनिक कारोबार वडासदस्य साहले हेर्दै आएको खुलेको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका साहको खोजी भइरहेको छ।

स्थानीयवासीले किसानलाई मल सकिएको भन्दै फर्काएर कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री गर्ने उद्देश्यले मल लुकाइएको आरोप लगाएका छन्। किसानले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।

सम्बन्धित पोस्टहरुः