नारायणी अस्पतालको अवस्था सामान्य बन्दै

1200x150_1200x150-01.jpg (1)

उपचाररत दुई बिरामीको मृत्यु भएपछि तनावग्रस्त बनेको वीरगंजस्थित नारायणी अस्पतालको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। वीरगंज महानगरपालिका–२५ भन्सार श्रीसियाका ५० वर्षीय राजकुमार पटेल र पर्साको जगरनाथपुर गाउँपालिका–६ सिसइ बहुअरीका ४६ वर्षीय राजेश यादवको उपचारका क्रममा मृत्यु भएपछि आफन्तजनले अस्पतालमा प्रदर्शन गरेका थिए।

घटनापछि स्थानीय प्रशासनको पहलमा नारायणी अस्पतालको सभाहलमा मृतकका परिवार, अस्पताल प्रशासन र सरोकारवालाबीच भएको छलफल तथा वार्तामा सहमति जुटेसँगै अस्पतालको अवस्था सामान्यतर्फ उन्मुख भएको हो।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा भएको वार्तामा ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आजकै मितिदेखि सात दिनका लागि जिम्मेवारीबाट हटाउने, घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन सार्वजनिक गर्ने, दोषी देखिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विभागीय कारबाहीका लागि सिफारिस गर्ने, इमर्जेन्सी विभागमा अत्यावश्यक उपकरण तथा सेवा प्रभावकारी बनाउने र प्रदर्शनका क्रममा पक्राउ परेका पीडित पक्षका आफन्तलाई रिहा गर्ने लगायतका विषयमा सहमति भएको छ।

शनिबार बिहान छाती दुखेपछि ९:४५ बजे नारायणी अस्पतालमा भर्ना भएका राजकुमार पटेलको बिहान ११:३० बजे उपचारकै क्रममा मृत्यु भएको थियो। त्यसैगरी चार–पाँच दिनअघि भर्ना भएका राजेश यादव सिकिस्त भएपछि वार्डबाट सघन उपचार कक्ष (आईसीयू) मा लैजाने क्रममा उनको मृत्यु भएको थियो।

दुवै मृतकका परिवारले चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा प्रदर्शन गर्नुका साथै केही समय चक्काजामसमेत गरेका थिए।

जानकारीअनुसार पटेलका परिवारसँग स्थानीय प्रशासनको नेतृत्वमा अस्पताल प्रशासनबीच सहमति भइसकेको छ भने राजेश यादवका परिवारसँग छलफल जारी छ। यद्यपि सहमतिसम्बन्धी आधिकारिक प्रेस विज्ञप्ति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

सम्बन्धित पोस्टहरुः