पर्सा यातायात कार्यालयको राजस्व सङ्कलनमा गिरावट

1200x150_1200x150-01.jpg (1)

पर्सा, साउन १०

यातायात व्यवस्था कार्यालय पर्साले आर्थिक वर्ष २०८२/८३ मा कुल एक अर्ब ५८ करोड ८८ लाख ६८ हजार ७४६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा तीन करोड ५१ लाख ७२ हजार ६३८ रुपैयाँ कम हो।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा कर राजस्वतर्फ एक अर्ब १४ करोड ८६ लाख ७३ हजार ४०३ रुपैयाँ र गैरकर राजस्वतर्फ ४४ करोड एक लाख ९५ हजार ३४३ रुपैयाँ सङ्कलन भएको छ।

आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले एक अर्ब ६२ करोड ४० लाख ४१ हजार ३८४ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। त्यसबेला कर राजस्व एक अर्ब २२ करोड १९ लाख नौ हजार ९९९ रुपैयाँ तथा गैरकर राजस्व ४० करोड २१ लाख ३१ हजार ३८५ रुपैयाँ रहेको थियो।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा गैरकर राजस्व करिब तीन करोड ८० लाख रुपैयाँले बढे पनि कर राजस्वमा करिब सात करोड ३२ लाख रुपैयाँको गिरावट आएपछि समग्र राजस्व सङ्कलन घटेको हो।

सवारीसाधन दर्ता, नवीकरण, चालक अनुमतिपत्र, सवारी कर तथा अन्य सेवामार्फत राजस्व सङ्कलन गर्दै आएको कार्यालयले आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै राजस्व सङ्कलन वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।

सम्बन्धित पोस्टहरुः