पर्सा, साउन १०
मधेश प्रदेशकै सबैभन्दा बढी बिरामीले सेवा लिने वीरगंजस्थित नारायणी अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) सेवा आइतबारदेखि बन्द गरिएको छ। आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शनिबार भएको कुटपिटको विरोधमा चिकित्सकहरूले इमर्जेन्सी सेवा स्थगित गरेका हुन्।
अस्पताल स्रोतका अनुसार आकस्मिक कक्षमा सुरक्षित वातावरण नरहेको तथा चिकित्सक र स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूति महसुस गर्न नसकेकाले सेवा बन्द गर्न बाध्य भएको हो।
शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवार तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए।
आक्रमणमा परी मेडिकल अफिसर डा. प्रमोद राम गम्भीर घाइते भएका छन्। उनको नारायणी अस्पतालकै सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहका अनुसार डा. रामको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको भए पनि अहिले अवस्था खतरामुक्त रहेको छ।
डा. साहले हृदयघात (कार्डियाक अरेस्ट) भएका बिरामीको ज्यान जोगाउनु धेरै अवस्थामा चुनौतीपूर्ण हुने उल्लेख गर्दै उपचारकै क्रममा मृत्यु भएपछि चिकित्सकलाई दोषी ठहर गर्नु उचित नहुने बताए।
नारायणी अस्पतालको आकस्मिक कक्षमा एक जना वरिष्ठ चिकित्सक, चार जना मेडिकल अफिसर र १४ जना स्वास्थ्यकर्मीले चौबीसै घण्टा सेवा प्रदान गर्दै आएका छन्। सेवा बन्द भएपछि आपत्कालीन उपचारका लागि अस्पताल पुग्ने बिरामी प्रत्यक्ष प्रभावित भएका छन्।
घटनापछि अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ भने चिकित्सकमाथि भएको आक्रमणबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको जनाएको छ।





