गाउँको नाम राख्ने विवाद सर्वोच्च अदालतमा पुग्यो

1200x150_1200x150-01.jpg (1)

रौतहट, साउन १०

रौतहटको फतुवा विजयपुर नगरपालिका–६ स्थित ऐतिहासिक पेटभर्वा गाउँको नाम, वडा कार्यालयको छाप तथा लेटरप्याड प्रयोगसम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको छ। प्रशासनिक तहबाट समाधान हुन नसकेपछि दायर गरिएको रिटमा सर्वोच्च अदालतले विपक्षीहरूलाई ‘कारण देखाऊ’ आदेश जारी गर्दै लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ।

दर्ता नम्बर ०८३–डब्लुओ–०००८ रहेको उत्प्रेषणसम्बन्धी रिटमा रोशन आउजीसहितका स्थानीय निवेदक छन् भने जिल्ला प्रशासन कार्यालय रौतहटसहित सम्बन्धित निकाय विपक्षी बनाइएका छन्।

यसअघि जिल्ला प्रशासन कार्यालय रौतहटले प्रचलित कानुनअनुसार स्वीकृत नाम, छाप र लेटरप्याड मात्र प्रयोग गर्न वडा कार्यालयलाई दुई पटक निर्देशन दिँदै तीन दिनभित्र स्पष्टीकरण मागेको थियो। तर स्थानीयका अनुसार अझै पनि ‘यदुवंशीनगर’ उल्लेख भएका छाप र लेटरप्याड प्रयोग भइरहेको छ।

स्थानीयवासीका अनुसार ‘पेटभर्वा’ नाम दशकौँदेखि सरकारी अभिलेख र नक्सामा कायम रहे पनि २०७४ सालपछि वडा कार्यालयले ‘यदुवंशीनगर’ नाम प्रयोग गर्न थालेपछि विवाद सुरु भएको हो। केही समय ‘पेटभर्वा’ नाम प्रयोग गरिए पनि २०७९ को स्थानीय निर्वाचनपछि पुनः ‘यदुवंशीनगर’ नाम प्रयोग हुन थालेको उनीहरूको आरोप छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सरकारी अभिलेखमा रहेको गाउँको नाम परिवर्तन गर्न मन्त्रिपरिषद्को निर्णय तथा कानुनी प्रक्रिया अनिवार्य हुने स्पष्ट पार्दै आएका छन्।

यता, वर्तमान वडा अध्यक्ष राम एकवाल यादव र पूर्व वडा अध्यक्ष हिरालाल यादवले नगर कार्यपालिकाको निर्णयअनुसार ‘यदुवंशीनगर’ नाम प्रयोग गरिएको दाबी गरेका छन्। उनीहरूका अनुसार जिल्ला प्रशासनले दुई पटक स्पष्टीकरण मागे पनि त्यसको जवाफ प्रशासनलाई बुझाइएको छैन।

स्थानीयका अनुसार नामको विवादका कारण गाउँमा दुई समुदायबीच पटक–पटक विवाद हुँदै आएको छ। सर्वोच्च अदालतको निर्णयले यस विवादको अन्त्य हुने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः