बारा, साउन १०
बाराको करैयामाई गाउँपालिका–८ नरही चोक–इटहर सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार राति करिब ११ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री उमेश साह सोनार र पवन साह सोनारलाई ठक्कर दिएको थियो। दुर्घटनापछि दुवैलाई प्रहरीले उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पठाएको थियो।
उपचारकै क्रममा शनिबार राति करिब १ः२० बजे करिब २५ वर्षीय उमेश साह सोनारको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव अस्पतालमै राखिएको छ।
दुर्घटनामा घाइते भएका बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही निवासी करिब ४० वर्षीय पवन साह सोनारको टाउकोमा गम्भीर चोट लागेको छ। उनको न्युरो अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालक फरार रहेकाले खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





