काठमाडौं, साउन १०
नेपालमा शेयर कारोबारका लागि डिम्याट खाता खोल्नेको सङ्ख्या ८० लाख नाघेको छ। सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म ८० लाख ९ हजार ६२३ वटा डिम्याट खाता खोलिएका छन्।
तीमध्ये मेरो शेयर का सक्रिय प्रयोगकर्ता ५१ लाख ४८ हजार ८९४ रहेका छन् भने करिब २९ लाख डिम्याट खाता निष्क्रिय अवस्थामा छन्। एउटै व्यक्तिले दुई वा सोभन्दा बढी डिम्याट खाता खोल्न पाउने व्यवस्थाका कारण खाताको सङ्ख्या उच्च देखिएको हो।
सीडीएसका अनुसार हालसम्म १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७८२ कित्ता शेयर डिम्याट भइसकेको छ। बजारमा सूचीकृत कुल शेयर सङ्ख्या भने १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६९८ कित्ता रहेको छ।
यस आधारमा करिब ६७ करोड ३५ लाख २९ हजार ९१६ कित्ता शेयर अझै डिम्याट हुन बाँकी रहेको वा नष्ट भएको हुन सक्ने सीडीएस एन्ड क्लियरिङले जनाएको छ।






