सुनसरी, साउन ११ –
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपपछि नेपाली सेनाको टोली परिचालन गरिएसँगै अवस्था नियन्त्रणमा आउन थालेको स्थानीय प्रशासनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले सुरक्षा निकायको संयुक्त परिचालनमार्फत अवस्था सामान्य बनाउने प्रयास भइरहेको जानकारी दिएका छन्।
आइतबार राति भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
यस घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्युका बाबजुद विभिन्न स्थानमा प्रदर्शन जारी रहेकाले सुरक्षा व्यवस्था थप कडा पारिएको छ। प्रहरीले शान्ति–सुरक्षा कायम गर्न आवश्यक सुरक्षा सतर्कता अपनाइएको जनाएको छ।







