राधेश्याम पटेल,वीरगंज,११ साउन –
पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी ३७ वर्षीय लक्ष्मी सिलवालको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै उनका आफन्त तथा स्थानीयले वीरगंजमा प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएका छन ।
लक्ष्मीको मृत्यु रहस्यमय रहेको दाबी गर्दै माइती पक्षले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, निष्पक्ष छानबिन गर्न तथा दोषीलाई कानुनी दायरामा ल्याउन दबाबस्वरूप प्रदर्शन गर्दै पर्सा प्रमुख जिल्ला अधिकारि भोला दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
प्रदर्शनकारीहरूले लक्ष्मी सिलवाललाई न्याय दे , हत्यारालाई कारबाही गर, तस्बिरहरू आफैं बोल्छन् , घटनाको निष्पक्ष छानबिन गर, विवरण सार्वजनिक गर लगायतका नारासहित ११ बुँदे माग प्रस्तुत गरेका थिए ।
प्रमुख जिल्ला अधिकारि दाहाललाई ज्ञापनपत्र बुझाउने क्रममा त्यही उपस्थित पर्सा प्रहरी उपरीक्षक सुदिपराज पाठकले घटनाको अनुसन्धान गरी दोषीलाइ कारवाही गर्ने आश्वाशन दिए । प्रहरीले मृतकका श्रीमान रेशमबहादुर सिलवालसहित सासु ससुरालाई पक्राउ गरी अनुसन्धान जारि राखेको छ ।
लक्ष्मीको शव ७ दिनदेखि नारायणी अस्पतालमा रहेको छ र उनका माइतीपक्षले दोषीलाई कारवाही भएपछी मात्रै शव बुझ्ने बताउदै आएका छन ।
दुई सन्तानकी आमा लक्ष्मी खड्का आफ्नै घर नजिकै रहेको गोठमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाको प्रकृति शङ्कास्पद रहेको दाबी गर्दै ठोरी गाउँपालिका–३ निवासी उनका आफन्तले निष्पक्ष छानबिनमार्फत सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग माग गर्दै आएका छन ।






