वीरगंज , साउन ११ —
नेपालकै पहिलो सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आइतबार बिहान सुरुङमार्गको उद्घाटन गर्दै परीक्षण सञ्चालनको शुभारम्भ गर्नुभयो।
काठमाडौंलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यस सुरुङमार्गले राजधानी प्रवेश तथा बाहिरिने यात्रालाई सुरक्षित, सहज र छिटो बनाउने अपेक्षा गरिएको छ। प्रारम्भिक परीक्षण अवधिमा एम्बुलेन्स, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइने सडक विभागले जनाएको छ।
परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइनेछ। सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन र सञ्चालन प्रक्रियाको परीक्षण सम्पन्न भएपछि अन्य योग्य सवारीसाधनका लागि पनि सुरुङमार्ग खुला गरिनेछ।
झन्डै २.६ किलोमिटर लामो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डको ट्राफिक जाम, उकालो र घुमाउरा सडकका कारण हुने सास्ती कम हुने तथा यात्राको समय करिब एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ। साथै इन्धन खपत र यातायात सञ्चालन खर्च पनि घट्ने विश्वास गरिएको छ।
आयोजनाअन्तर्गत मुख्य सुरुङसँगै आकस्मिक उद्धारका लागि छुट्टै उद्धार सुरुङ निर्माण गरिएको छ। सुरुङमा अत्याधुनिक सिसिटिभी, भेन्टिलेसन, आगलागी नियन्त्रण, सञ्चार तथा उद्धार प्रणाली जडान गरिएको छ।
सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारी तथा पेट्रोल, डिजेल, ग्यास वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई प्रवेश अनुमति नहुने व्यवस्था गरिएको छ।
परीक्षण अवधि समाप्त भएपछि कार, भ्यान, बस र ट्रकका लागि तोकिएको दरअनुसार विद्युतीय माध्यमबाट शुल्क संकलन गरिने सडक विभागले जनाएको छ। सरकारका अनुसार यो आयोजना नेपालको आधुनिक सडक पूर्वाधार विकासतर्फको महत्वपूर्ण उपलब्धि तथा भविष्यका सुरुङमार्ग निर्माणका लागि नमुना परियोजनाका रूपमा स्थापित हुनेछ।







