बारा, साउन ११ —
बाराको परवानीपुर गाउँपालिका–५ नौतनस्थित एक पेट्रोल पम्पमा पेट्रोल हालेर मोटरसाइकल स्टार्ट गर्ने क्रममा अचानक आगलागी भएको छ।
आइतबार दिउँसो करिब ३ः३० बजे ऋषभ आलय स्टोरस्थित पेट्रोल पम्पमा ना २२ प ८८०७ नम्बरको मोटरसाइकलमा पेट्रोल भरिसकेपछि स्टार्ट गर्ने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ भने पेट्रोल भर्ने डिस्पेन्सरको एक थान नोजलसमेत जलेर क्षति पुगेको छ।
स्थानीयवासी, फायर एक्स्टिङ्गुइशर र प्रहरीको सहयोगमा करिब १० मिनेटपछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानवीय वा चौपाया क्षति भएको छैन।
घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (प्रसनि) राजदेव यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। मोटरसाइकल चालक भने घटनापछि फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






