नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा

1200x150_1200x150-01.jpg (1)

पर्सा, साउन १२

नारायणी अस्पतालका ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगञ्जका अध्यक्ष डा. मनोज गुप्ताका अनुसार चिकित्सकमाथि सुरक्षा अधिकारीले दुर्व्यवहार गरेको विरोधमा उनीहरूले निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. चितरञ्जन साहसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्।

शनिबार उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण गरी गम्भीर घाइते बनाएका थिए। त्यसको विरोधमा चिकित्सकहरूले आकस्मिक सेवासहित सबै सेवा बन्द गरी आन्दोलन गर्दै आएका छन्।

चिकित्सक पक्षले जिल्ला प्रशासन कार्यालयमा भएको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सुरक्षा निकायले चिकित्सकसँग दुर्व्यवहार गरेको आरोप लगाएको छ। यता प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने चिकित्सकलाई बन्धक नबनाइएको र अस्पतालको सेवा सुचारु गराउने उद्देश्यले छलफलका लागि मात्र बैठक कक्षमा राखिएको दाबी गरेका छन्।

घटनाबारे दुवै पक्षले फरक–फरक दाबी गरेका छन् भने यस विषयमा थप छलफल र समन्वयको प्रयास जारी रहेको जनाइएको छ।

सम्बन्धित पोस्टहरुः