पर्सा, साउन १३ –
पर्सामा सक्रिय प्रमुख राजनीतिक दलहरूले वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथि भएको आक्रमण र त्यसपछि उत्पन्न विवाद संवाद तथा सहमतिमार्फत समाधान गर्न सबै पक्षसँग अपिल गरेका छन्।
मंगलबार नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा बसेको सर्वदलीय बैठकले चिकित्सकको आन्दोलनका कारण तीन दिनदेखि वीरगञ्जका अस्पतालमा उपचार सेवा प्रभावित भएकोप्रति चिन्ता व्यक्त गर्दै आन्दोलनरत चिकित्सक, नेपाल चिकित्सक संघ, नारायणी अस्पताल प्रशासन र स्थानीय प्रशासनलाई वार्ता र संवादमार्फत निकास निकाल्न आग्रह गरेको हो।
बैठकले उपचारका क्रममा मृत्यु भएका वीरगञ्ज–२५ का राजकुमार पटेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै चिकित्सक डा. प्रमोद राम र अन्य स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको भर्त्सना गर्दै घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न र घाइते चिकित्सकको उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने माग गरेको छ।
सर्वदलीय बैठकले घटनाको निष्पक्ष छानबिनका लागि विज्ञको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रशासनिक पदाधिकारीको व्यवहारप्रति ध्यानाकर्षण भएको जनाउँदै भविष्यमा संवादलाई मर्यादित र जिम्मेवार ढंगले अघि बढाउन पनि आग्रह गरेको छ।






