वीरगंज , साउन १३ –
सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई लिएर विभिन्न राजनीतिक दलहरूले संयुक्त वक्तव्य जारी गर्दै पारस्परिक भाइचारा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै नागरिकसँग आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकपछि जारी ७ बुँदे वक्तव्यमा विविधताबीचको एकता खल्बल्याउने कुनै पनि गतिविधि वा उत्तेजनामा नलाग्न अपिल गरिएको छ।
दलहरूले प्रदेश, जिल्ला र पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवाद विस्तार गर्न तथा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न आह्वान गरेका छन्।
संयुक्त वक्तव्यमा घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनबमोजिम कारबाही, पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र संयमता अपनाएर अवस्था शीघ्र सामान्य बनाउन सरकारसँग माग गरिएको छ। साथै, भ्रामक समाचार, अफवाह र घृणास्पद अभिव्यक्तिबाट सचेत रहँदै सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरिएको छ।
बैठकमा कांग्रेसका गगन थापा, नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका शङ्कर पोखरेल, श्रम संस्कृति पार्टीका आरेन राई, लोसपाका महन्थ ठाकुर, राप्रपाका राजेन्द्र लिङ्देन, जनमत पार्टीका सीके राउत तथा जसपा नेपालका प्रकाश अधिकारीलगायतका नेताहरू सहभागी थिए।







