गढीमाई मन्दिरको ताल्चा फोडेर सुन–चाँदीका गहना चोरी

1200x150_1200x150-01.jpg (1)

बारा, साउन १३ —

बाराको महागढीमाई नगरपालिका–१, बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी भएको घटना सार्वजनिक भएको छ। मन्दिरको मूल ढोकाको ताल्चा फोडेर देवीको मूर्तिमा रहेका सुन–चाँदीका गहना चोरी गरिएको प्रहरीले जनाएको छ।

गढीमाई मन्दिरका मूल पुजारी शिव चौधरीका अनुसार साउन १० गते मध्यराति अज्ञात व्यक्तिले मन्दिरको ताल्चा फोडी गढीमाईको मूर्तिमा रहेको चाँदीको मुकुट एक थान, सुनको जलप लगाइएको चाँदीको हार एक थान, सुनको तिलहरी एक थान र सुनको सिक्री एक थान चोरी गरेका हुन्।

पुजारी चौधरीले बिहान करिब ३ बजे नियमित पूजापाठका लागि मन्दिर पुग्दा ढोकाको ताल्चा फुटेको र मूर्तिमा रहेका गहना हराएको देखेपछि घटना थाहा भएको बताए। त्यसलगत्तै उनले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साहलाई जानकारी गराएका थिए।

घटनाबारे प्रहरीलाई सूचना दिइसकिएको र चोरीमा संलग्न व्यक्तिको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः