सुनसरी, साउन १३ —
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गठित पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोलीले बुधबार सुनसरीको देवानगञ्ज पुगेर घटनाको स्थलगत अनुसन्धान सुरु गरेको छ।
टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय, सरोकारवाला पक्ष तथा प्रत्यक्षदर्शीसँग छलफल गर्दै घटनाको वास्तविकता बुझ्ने काम गरिरहेको छ। घटनाको पृष्ठभूमि, त्यसबेला सिर्जना भएको अवस्था तथा कसको के भूमिका र जिम्मेवारी रहेको भन्ने विषयमा आवश्यक तथ्य र प्रमाण संकलन भइरहेको जनाइएको छ।
छानबिन टोलीले घटनाका सबै पक्षको निष्पक्ष अध्ययन गरी विस्तृत प्रतिवेदन सरकारसमक्ष बुझाउने तयारी गरेको छ। उक्त प्रतिवेदनका आधारमा आवश्यक थप निर्णय तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।







