काठमाडौं, साउन १४ —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्तले वीरगंजस्थित नारायणी अस्पतालमा भएको घटना र त्यसपछिको अवस्थाको व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पन्तले नारायणी अस्पतालमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न र निर्दोषलाई तत्काल रिहा गर्न सरकारसँग माग गरे।
उनले घटनापछि सरकारका निकायबीच आवश्यक समन्वय हुन नसकेको आरोप लगाउँदै आफूले स्वास्थ्यमन्त्री, गृहसचिव र स्वास्थ्य सचिवसँग पटक–पटक सम्पर्क गरे पनि प्रभावकारी पहल हुन नसकेको बताए। गृह र स्वास्थ्य मन्त्रालयले एकअर्कालाई जिम्मेवारी पन्छाउने प्रवृत्तिका कारण समस्या समाधानमा ढिलाइ भएको उनको भनाइ थियो।
सांसद पन्तले चिकित्सकहरूको आन्दोलनका कारण देशभर सरकारी अस्पतालको सेवा प्रभावित हुँदा सर्वसाधारण उपचारबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै यस्ता संवेदनशील घटनामा सरकारले समयमै प्रभावकारी समन्वय र निर्णय क्षमता देखाउनुपर्नेमा जोड दिए।
उनले परिवर्तनको नारासहित बनेको वर्तमान सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्दै सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरे।







