सुस्तामा भारतीय एसएसबीले निर्माणाधीन बाँध भत्काएपछि तनाव

1200x150_1200x150-01.jpg (1)

पश्चिम नवलपरासी, साउन १७ —

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएपछि सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ।

स्थानीयका अनुसार आइतबार दिउँसो करिब ३:३० बजे सादा पोसाक र हतियारसहित ठूलो संख्यामा आएका एसएसबीका जवानले सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको कच्ची बाँध भत्काएका हुन्।

सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार भारतीय सुरक्षाकर्मी दुई देशको सीमा मानिने सिमलको रुखभन्दा करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेका थिए। स्थानीयले विरोध जनाए पनि हतियारसहित आएका सुरक्षाकर्मीका कारण उनीहरूलाई रोक्न नसकिएको उनले बताए।

यसअघि पनि गत असारमा भारतीय पक्षले सुस्ता क्षेत्रमा बाँध निर्माण रोक्न दबाब दिएको स्थानीयको भनाइ छ। स्थानीय मुन्ना खाँका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीको धार परिवर्तन तथा भारतीय पक्षको पटक–पटकको हस्तक्षेपका कारण सुस्ता क्षेत्रमा सीमा विवाद दोहोरिँदै आएको छ।

घटनापछि कुनै अप्रिय अवस्था सिर्जना हुन नदिन नेपाल सशस्त्र प्रहरी बल घटनास्थलमा परिचालन गरिएको छ।

सम्बन्धित पोस्टहरुः