राधेश्याम पटेल, परवानीपुर,१९ साउन /
आन्तरिक राजस्व कार्यालय, वीरगंज, पर्साले गत आर्थिक वर्ष २०८२/८३ मा कुल ९ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले पाएको ११ अर्ब ६५ करोडको लक्ष्यको तुलनामा २० प्रतिशत अर्थात् २ अर्ब ३३ करोड रुपैयाँ कम राजस्व संकलन भएको हो।
कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत पप्पु कुमार गुप्ताका अनुसार गत आ.व.मा संकलन भएको राजस्व अघिल्लो आ.व. २०८१/०८२ को तुलनामा पनि १३ करोड रुपैयाँले कम हो। आ.व. २०८१/८२ मा कार्यालयले कुल ९ अर्ब ४५ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।
कार्यालयले गत आ.व. २०८२/८३ को लक्ष्य र संकलनको विवरण यसप्रकार रहेको जनाएको छ ।
आयकरततर्फ ४ अर्ब ३४ करोड लक्ष्य रहेकोमा ५८ प्रतिशत अर्थात् २ अर्ब ५१ करोड मात्र संकलन भयो। लक्ष्यभन्दा १ अर्ब ८३ करोड कम।
– *मूल्य अभिवृद्धि कर – भ्याट*: २ अर्ब ५० करोड लक्ष्य रहेकोमा ८८ प्रतिशत अर्थात् २ अर्ब २१ करोड संकलन भयो। लक्ष्यभन्दा २९ करोड कम।
– *अन्तःशुल्क*: ४ अर्ब ८० करोड लक्ष्य रहेकोमा ९६ प्रतिशत अर्थात् ४ अर्ब ५९ करोड संकलन भयो। लक्ष्यभन्दा २१ करोड कम।
*राजस्व घट्नुका मुख्य कारण*
सूचना अधिकारी गुप्ताका अनुसार राजस्व लक्ष्य पूरा नहुनुका मुख्य कारणहरू निम्न रहेका छन्:
1. *आर्थिक सुस्तता*: बजारमा माग कम हुँदा उत्पादन र आयात दुवैमा गिरावट आएको।
2. *आयकर दाताको अनुपालन कम*: धेरै व्यवसायीले अपेक्षित रूपमा आय विवरण नबुझाएको र कर दायरा विस्तार हुन नसकेको।
3. *आयातमा कमी*: राजस्वको ठूलो हिस्सा रहेको आयातमा गिरावट आएका कारण भ्याट र अन्तःशुल्कमा लक्ष्यअनुसार संकलन हुन सकेन।
4. *कर छुट र सहुलियत*: सरकारले केही क्षेत्रलाई दिएको कर सहुलियतले पनि संकलनमा असर पारेको।
*प्यान दर्तामा वृद्धि*
राजस्व संकलन लक्ष्य नपुगे पनि करदाता दर्तामा भने वृद्धि भएको छ। गत आ.व. २०८२/८३ मा कार्यालयले २,५३ नयाँ व्यापारिक प्यान र १५,५११ व्यक्तिगत प्यान वितरण गरेको छ।
हालसम्म वीरगन्ज आन्तरिक राजस्व कार्यालयमा आयकरतर्फ ४ हजार ९ सय २१ जना व्यापारिक प्यान, भ्याटतर्फ १२ हजार १ सय ८३ जना र अन्तःशुल्कतर्फ १ हजार ९ सय ९२ जनाले स्थायी लेखा नम्बर – प्यान लिएका छन्।
कार्यालयले चालु आर्थिक वर्षमा कर दायरा विस्तार, विद्युतीय कारोबारको निगरानी र कर छली नियन्त्रणलाई प्राथमिकतामा राखेर राजस्व संकलन बढाउने योजना बनाएको सूचना अधिकारी गुप्ताले जानकारी दिए।






