वीरगंज, १९ साउन । १४ थान ईलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट खरिद गरि वीरगंजमा ल्याएर चलाउदै आएका नम्बर नभएका १४ वटा स्कुटर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
भारतीय बजार रक्सौलमा सस्तोमा पाइने तथा सवारी चालक अनुमतिपत्र समेत आवश्यक नपर्ने भएपछि वीरगंज र आसपासका स्थानीयले रक्सौलबाट ईलेक्ट्रिक स्कुटर खरिद गरेर वीरगंजमा प्रयोग गर्दै आएका छन् ।
तर त्यसरी खरिद गरि ल्याइएका ईलेक्ट्रिक स्कुटरको भन्सार राजस्व नतिरिकन वीरगंजमा छ्याप्छ्याप्तति प्रयोगमा ल्याउन थालिएपछि प्रहरीले नियन्त्रणमा लिने अभियान गत बैशाखदेखि नै थालेको हो ।
सोमवार पनि नेपाल प्रहरी र ट्राफिक प्रहरीले वीरगंजको घण्टाघर चोकस्थित सडकबाट त्यस्ता १४ थान ईलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।
नियन्त्रणमा लिइएका ती १४ थान ईलेक्ट्रिक स्कुटरको ११ लाख २० हजार रुपियाँँको मुल्यांकन गरेर आवश्यक कारबाहीका लागि मंगलवार वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।






