ललितपुर , साउन २४ —
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताएका छन्।
आइतबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै सांसद ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलको नाम परिवर्तन भए पनि सिंहदरबारको नाम यथावत् रहेको भन्दै प्रश्न उठाएका हुन्।
नेपालमा सिंह नपाइने उल्लेख गर्दै ढकालले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि प्रश्न गरेका छन्। उनले सिंहदरबारको नाम ‘अनामनगर दरबार’ राख्न सकिने धारणा समेत राखेका छन्।
ढकालले नाम परिवर्तनसँगै सिंहदरबारको कार्यशैली, प्रवृत्ति र प्रशासनिक भाषामा समेत परिवर्तन आवश्यक रहेको बताएका छन्। प्रशासनिक केन्द्रको ‘मुहान’ मै सुधार हुनुपर्ने भन्दै उनले पुरानो सोच, शैली र भाष्यलाई चिर्नुपर्नेमा जोड दिएका छन्।
उनले राजनीतिक परिवर्तनअनुसार प्रशासनिक संरचना र त्यसको कार्यशैलीमा समेत नयाँपन आउनुपर्ने बताएका छन्।






