एजेन्सी , साउन २४ —
हर्मुज जलमार्गमा लामो समयदेखि अलपत्र रहेका जहाजहरूले समुद्री जैविक अतिक्रमणलाई तीव्र रूपमा फैलाउने ‘सुपर–स्प्रेडर’को भूमिका खेल्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय समुद्री जीवविज्ञानीहरूको टोलीले तयार पारेको प्रतिवेदनअनुसार पर्सियन खाडी र ओमानको खाडी जोड्ने महत्त्वपूर्ण जलमार्ग लामो समय बन्द हुँदा जैविक सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुन सक्छ। प्रतिवेदन बायोलोजीकल इनोभेसनस नामक जर्नलमा प्रकाशित भएको बीबीसीले जनाएको छ।
वैज्ञानिकहरूका अनुसार ठूलो संख्यामा जहाजहरू लामो समयदेखि समुद्रमा स्थिर अवस्थामा रहेका छन्। यस अवधिमा समुद्री जीव, लेउ तथा गैरस्थानीय प्रजातिहरूलाई जहाजको संरचनामा टाँसिएर हुर्कन पर्याप्त समय मिलिरहेको छ।
यस प्रक्रियालाई ‘बायोफाउलिङ’ भनिन्छ। लामो समयसम्म एकै स्थानमा रोकिएका जहाजमा विभिन्न समुद्री सूक्ष्मजीव, लेउ र मेरुदण्डविहीन जीवहरू टाँसिएर बढ्न सक्छन्।
जहाजहरूले पुनः विभिन्न देशतर्फ यात्रा सुरु गर्दा ती जीवहरू नयाँ समुद्री क्षेत्रमा पुग्न सक्ने र त्यहाँको स्थानीय पारिस्थितिक प्रणालीमा गम्भीर असर पार्न सक्ने वैज्ञानिकहरूले बताएका छन्।
प्रतिवेदनअनुसार गत फेब्रुअरीदेखि पर्सियन अर्थात् अरबी खाडीमा करिब १ हजार ५ सय जहाज अलपत्र परेका छन् भने ओमानको खाडीमा पनि सयौँ जहाज रोकिएका छन्। वैज्ञानिकहरूले यस अवस्थाले विश्वका विभिन्न समुद्री क्षेत्रमा जैविक अतिक्रमण फैलिन सक्ने जोखिम बढाएको बताएका छन्।







