एजेन्सी साउन २५ —
उत्तर कोरियाली राज्य–समर्थित ह्याकरहरूले साइबर आक्रमणलाई थप प्रभावकारी बनाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरिरहेको दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनीले जनाएको छ।
समाचार संस्था अलजजीराका अनुसार उत्तर कोरियाली ह्याकरहरूले सैन्य, कूटनीतिक तथा शैक्षिक क्षेत्रलाई लक्षित गर्ने साइबर आक्रमणमा एआईको प्रयोग बढाइरहेका छन्।
दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी ‘जेनियन्स’को प्रतिवेदनअनुसार उत्तर कोरियाको गुप्तचर निकायसँग सम्बन्धित ‘किम्सुकी’ नामक ह्याकिङ समूहले सन् २०२६ देखि ‘स्पियर–फिसिङ’ आक्रमणमा एआईबाट तयार पारिएका कागजात प्रयोग गर्दै आएको छ।
प्रतिवेदनमा ‘किम्सुकी’ले पत्ता लाग्ने सम्भावना कम गर्न इन्टरनेट जडानविना नै लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) सञ्चालन गर्ने खुला स्रोतका उपकरणहरू प्रयोग गरेको उल्लेख छ।
जेनियन्सले एआईको प्रयोगबाट छोटो समयमै विभिन्न विषयमा उच्च गुणस्तरका कागजात तयार गर्न सकिने भएकाले साइबर अपराधीका लागि यो प्रभावकारी उपकरण बन्न सक्ने जनाएको छ।
वाशिङ्टन डीसीस्थित स्टिमसन सेन्टरकी वरिष्ठ अध्येता जेनी टाउनले पनि उत्तर कोरियाली ह्याकर र प्रोग्रामरहरू आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाउन विभिन्न एआई उपकरण प्रयोग गर्न सक्षम रहेको बताउनुभएको छ।
यसैबीच, बेलायती ब्लकचेन एनालिटिक्स कम्पनी ‘एलिप्टिक’को प्रतिवेदनअनुसार सन् २०२५ को पहिलो नौ महिनामा उत्तर कोरियाली ह्याकरहरूले २ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरी गरेको दाबी गरिएको छ।






