वीरगंज , साउन २६ —
पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार राति करिब १०ः३० बजे आदर्शनगरमा प्रदेश २–०३–००३ प ७२५५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकलमा सवार चार जनाको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ पर्नेमा भारत बिहारको सीतामढी जिल्ला डुमरा थाना–६ का २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह, सोही स्थानका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।
प्रहरीका अनुसार सुरज कर्णको साथबाट १ लाख, उपेन्द्र साहबाट १८ लाख १६ हजार, सागरकुमार सर्राफबाट १८ लाख ३४ हजार र राहुलकुमार गुप्ताबाट १६ लाख रुपैयाँ बरामद भएको हो।
बरामद रकममा १ हजार दरका ४० लाख ५ हजार, ५ सय दरका ११ लाख ७६ हजार ५ सय, १ सय दरका ६४ हजार ३ सय र ५० दरका ४ हजार २ सय रुपैयाँका नोट रहेका छन्।
नगद तथा दुवै मोटरसाइकलसहित पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।







