वीरगंज , साउन २६ —
मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन्।
सबैया साझेदारी वन उपभोक्ता समूह, पर्साको प्रथम साधारण सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले वन संरक्षण र दिगो व्यवस्थापनका लागि सरकारसँगै स्थानीय नागरिक पनि वृक्षरोपण तथा वन संरक्षणमा सक्रिय हुनुपर्ने बताए।
उनले २०३६ सालदेखि हुँदै आएको वन विनाशलाई नियन्त्रण गर्न साझेदारी वन उपभोक्ता समूहको अवधारणा अघि बढाइएको उल्लेख गर्दै वन संरक्षणको मूल उद्देश्यअनुसार सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए।
मन्त्री चौधरीले वनमा काठ सडेर जाने अवस्था रहे पनि उपभोक्ताले आवश्यक काठ सहज रूपमा प्राप्त गर्न नसकेको विषय गम्भीर रहेको बताए। वन व्यवस्थापन र काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल तथा सहज बनाउन आवश्यक रहेको उनको भनाइ थियो।
उनले वन संरक्षणलाई प्रभावकारी बनाउन सरकार, वन उपभोक्ता र स्थानीय नागरिकबीच सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था तथा सहकारीमन्त्री श्याम पटेलले केही व्यक्तिको स्वार्थका कारण साझेदारी वनको प्रभावकारी व्यवस्थापन हुन नसकेको आरोप लगाए। वनलाई व्यापारिक दृष्टिले मात्र नहेरी सामाजिक सेवाको भावनाबाट संरक्षण र व्यवस्थापन गर्नुपर्ने उनले बताए।
मन्त्री पटेलले मधेशका किसानले रासायनिक मलको अभाव झेलिरहेको उल्लेख गर्दै संघीय सरकारले पर्याप्त मल उपलब्ध नगराउँदा समस्या भएको बताए।
सबैया साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष लखनलाल साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जनप्रसाद साह सोनार, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदलगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो।







