रौतहट , साउन २६ —
रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको घटनामा प्रहरीले वडाध्यक्षसहित दुई जनालाई पक्राउ गरेको छ।
सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि मौलापुर नगरपालिका–३ का वडाध्यक्ष महेश महतो कोइरी र २८ वर्षीय त्रिकिशोर कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार २०८२ साल असार ६ गते मौलापुर–३ स्थित विद्युत् कार्यालय नजिक वडाध्यक्ष कोइरीले चलाएको ना.२५ प १२२५ नम्बरको मोटरसाइकल र कुशवाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा कुशवाहाको मोटरसाइकलमा पछाडि सवार २० वर्षीय नीरज कुशवाहा गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा २०८२ साल माघ १७ गते मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानपछि प्रहरीले साउन २५ गते दुवै चालकलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनामाथि सवारी ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।






