रौतहट , साउन २७ –
सामाजिक सञ्जालमार्फत अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रविन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमा अभद्र तथा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको पुष्टि गर्नुभएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत गालीगलौज तथा अभद्र व्यवहार गरेको आरोपमा यादवमाथि अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि घटनाबारे थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।






