पर्सा , साउन २८ –
पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको विरोधमा पत्रकार तथा विभिन्न राजनीतिक दलले आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेका छन्।
श्रेष्ठलाई सोमबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। प्रहरीका अनुसार जनआस्था डटकममा प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।
श्रेष्ठमाथि वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले जनआस्था साप्ताहिक तथा जनआस्था डटकमको ललितपुरस्थित झम्सीखेल कार्यालयमा समेत छापा मारेर कम्प्युटरलगायत केही कागजात नियन्त्रणमा लिएको बताइएको छ।
समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानुनी प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै पत्रकारका संघसंस्थाले विरोध गरेका छन्।
श्रेष्ठ पक्राउ परेको जानकारी पाएपछि नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मी जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए। उनीहरूले नाराबाजी गर्दै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका छन्।
नेपाल पत्रकार महासंघले मंगलबार बिहान काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदै प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि पत्रकार, प्रेस स्वतन्त्रताका पक्षधर तथा नागरिक समाजलाई सहभागी हुन आह्वान गरेको छ।
महासंघले श्रेष्ठ पक्राउ पर्नुको कारण सार्वजनिक गर्न, कानुनी प्रक्रिया पारदर्शी बनाउन तथा पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न माग गरेको छ।
यसैबीच नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाचार लेखेकै आधारमा पत्रकारलाई राज्य संयन्त्रबाट नियन्त्रणमा लिनु लोकतन्त्रको उपहास भएको बताउँदै श्रेष्ठको तत्काल रिहाइको माग गर्नुभएको छ।
एमाले महासचिव शंकर पोखरेलले पनि समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकार पक्राउ गर्नु गैरकानुनी तथा प्रेस स्वतन्त्रताविरोधी कदम भएको बताउनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत प्रेसलाई निर्वाध रूपमा काम गर्ने वातावरण बनाउन र श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेको छ।







