पोखरिया अस्पतालमा एक्स–रे र टोकन मेशीन बन्द, बिरामीलाई सास्ती

1200x150_1200x150-01.jpg (1)

पर्सा , साउन २८ –

पोखरिया प्रादेशिक अस्पतालमा लामो समयदेखि एक्स–रे सेवा र टोकन मेशीन सञ्चालनमा नआउँदा उपचारका लागि पुग्ने बिरामी तथा सेवाग्राही समस्यामा परेका छन्।

अस्पतालको एक्स–रे मेशीन करिब एक वर्षदेखि बन्द रहेको बताइएको छ। एक्स–रे गर्नुपर्ने बिरामीले अस्पतालबाहिर निजी तथा अन्य स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको छ। सामान्यदेखि आकस्मिक अवस्थाका बिरामीसमेत बाहिर गएर महँगो शुल्क तिर्नुपरेको सेवाग्राहीले बताएका छन्।

सेवाग्राही मालती देवीले सरकारी अस्पतालमै एक्स–रे सेवा उपलब्ध नहुँदा आर्थिक अवस्था कमजोर भएका बिरामी थप मारमा परेको बताइन्। अस्पतालमा सेवा नियमित नहुँदा बिरामीले उपचारका लागि समयसँगै अतिरिक्त रकमसमेत खर्च गर्नुपरेको उनको भनाइ छ।

यसअघि पनि अस्पतालको एक्स–रे तथा प्रयोगशाला सेवा लामो समय बन्द रहेको विषय सार्वजनिक भएको थियो। सेवा बन्द रहेकै अवस्थामा सम्बन्धित शाखाका केही कर्मचारीले जोखिम भत्ता लिएको समाचारसमेत सार्वजनिक भएको थियो।

त्यस्तै, अस्पतालको टोकन मेशीन पनि ६ महिनाभन्दा बढी समयदेखि बिग्रिएर बन्द रहेको कर्मचारीहरूले बताएका छन्। टोकन मेशीन सञ्चालनमा हुँदा सेवाग्राहीले आफ्नो पालोअनुसार उपचार सेवा लिन सहज हुने गरे पनि मेशीन बिग्रिएपछि बिरामी एकै ठाउँमा जम्मा हुँदा भीडभाड बढेको सेवाग्राही रमेश साहले बताए।

सरकारी अस्पतालमा आवश्यक उपकरण लामो समयसम्म सञ्चालनमा नआएपछि सेवाग्राहीले अस्पताल व्यवस्थापनको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनीहरूले बिग्रिएका उपकरण तत्काल मर्मत गरी सेवा नियमित गर्न माग गरेका छन्।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. आनन्द रौनियारले बिग्रिएका उपकरण मर्मत गरी बन्द रहेका सेवा सञ्चालनमा ल्याउने काम भइरहेको बताए। ⁠एक साताभित्र अस्पतालका सबै सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।

अस्पताल प्रशासनले तोकेको समयसीमाभित्र एक्स–रे, टोकन मेशीनलगायत सेवा सञ्चालनमा आए बिरामी तथा सेवाग्राहीलाई राहत पुग्ने देखिएको छ।

सम्बन्धित पोस्टहरुः