जनकपुरधाम , साउन २९ –
मधेस प्रदेशका विभिन्न अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग हुने औषधि अभाव भएपछि उपचार प्रभावित हुन थालेको छ । रेबिजविरुद्धको खोप भने हालै उपलब्ध भएकाले अब केही महिनासम्म सहज हुने स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरका फार्मेसी अधिकृत एवं सूचना अधिकारी उज्जवल यादवका अनुसार ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट ३/४ दिनअघि रेबिजविरुद्धको खोप आएको छ । प्रदेश सरकारले समेत केही मात्रा खरिद गरेकाले अब ३/४ महिनासम्म खोपले धान्ने उनले बताए ।
तर सर्पदंशको औषधि भने अझै अभाव रहेको यादवले बताए । यसबारे स्वास्थ्य मन्त्रालय र सम्बन्धित विभागलाई जानकारी गराइसकिएको तथा चाँडै औषधि उपलब्ध हुने आश्वासन पाएको उनले जनाए ।
प्रादेशिक अस्पताल जनकपुरमा अहिले करिब १ सय भाइल सर्पदंशको औषधि मात्र रहेको सूचना अधिकारी डा. रामज्ञान यादवले बताए । उक्त औषधिले ८/१० जना बिरामीलाई मात्र पुग्ने भएकाले मौज्दात सकिए सर्पदंशका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था आउन सक्ने उनले बताए ।
गर्मी याममा सर्पदंशका बिरामीको संख्या बढ्ने भएकाले औषधि अभावले जोखिम थपिएको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पर्याप्त बजेट अभाव तथा बजेट निकासा ढिला हुँदा आवश्यक औषधि खरिदमा समस्या हुने गरेको जनाएको छ ।
यसैबीच चालु आर्थिक वर्षको साउन महिना सकिन लाग्दा पनि औषधि खरिदका लागि आवश्यक निर्देशिका नआएकाले टेन्डरलगायत प्रक्रिया कहिलेदेखि सुरु गर्ने भन्नेमा कर्मचारी अन्योलमा रहेका छन् ।






