पर्सा , साउन २९ –
पर्साका नवआगन्तुक प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जिल्लामा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।
पर्साका पत्रकार तथा सञ्चारकर्मीसँग शुक्रबार भएको छलफलमा एसपी भट्टराईले वीरगंजमा हुने अवैध गतिविधि तथा भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न प्रहरी प्रतिबद्ध रहेको बताए । उनले पत्रकारलाई सत्यतथ्यमा आधारित भएर कलम चलाउन आग्रह गरे ।
छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले सबै पत्रकारलाई समान रूपमा सूचना उपलब्ध गराउन प्रहरी प्रशासनसँग आग्रह गरे । उनले पर्सा प्रहरीले सेवाग्राहीलाई जिम्मेवार भएर सेवा दिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले पर्सा र वीरगञ्ज सुरक्षा दृष्टिले संवेदनशील भए पनि प्रहरी जिम्मेवार भएर काम गरे जिल्लावासीको विश्वास जित्न सक्ने बताए । उनले विभिन्न स्थानमा कबाडी करका नाममा भइरहेको अवैध असुली रोक्नुपर्नेमा जोड दिए ।
महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले पर्सा प्रहरीमा बिचौलियाको प्रभाव अन्त्य गर्नुपर्ने बताए । उनले पत्रकारलाई पनि आचारसंहितामा रहेर काम गर्न आग्रह गरे ।
महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले समाचार लेखेकै कारण प्रहरीले विज्ञप्ति निकाल्ने तथा धाकधम्की दिने गरेको गुनासो गरे । प्रहरीले राम्रो काम गर्दा प्रशंसा र गलत काम गर्दा खबरदारी गर्नु पत्रकारको जिम्मेवारी रहेको उनले बताए ।
एसपी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी निरीक्षक सोनी नेम्हाफिकीले सहजीकरण गरेकी थिइन् ।








