वीरगंज , साउन २९ –
वीरगंज महानगरपालिका–११ श्रीपुरमा नवनिर्मित श्री गणेश जी महाराजको मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा भव्य कलश यात्रा सम्पन्न भएको छ।
बिहानैदेखि महिला, बालबालिका तथा हजारौँ श्रद्धालुको सहभागितामा निकालिएको कलश यात्रा श्रीपुरबाट सुरु भई कृषि औजार कारखाना क्षेत्र हुँदै घडीअर्वा पोखरी पुगेको थियो। त्यहाँबाट पवित्र जल भरेर श्रद्धालुहरू कलश बोकी नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै घण्टाघर हुँदै पुनः मन्दिर परिसर पुगेका थिए।
कलश यात्रामा महिला, किशोरी तथा बालबालिकाको उल्लेख्य सहभागिता रहेको थियो। श्रद्धालुको ठूलो उपस्थितिले श्रीपुर क्षेत्र भक्तिमय बनेको आयोजकले जनाएको छ।
यसैबीच, कलश यात्राका क्रममा स्थानीय मुस्लिम समुदायका युवाहरूले श्रद्धालुलाई खानेपानी वितरण गर्दै स्वागत गरेका थिए। मुस्लिम समुदायको यस्तो सहयोगले वीरगंजको धार्मिक सहिष्णुता, आपसी भाइचारा र सामाजिक सद्भावको सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।
हिन्दु–मुस्लिम समुदायबीचको सहकार्यले धार्मिक आस्थाभन्दा माथि उठेर सामाजिक एकता र आपसी सम्मान कायम गर्न सकिने सन्देश दिएको स्थानीयको भनाइ छ। मन्दिरको प्राण प्रतिष्ठासँगै विभिन्न धार्मिक कार्यक्रमसमेत आयोजना गरिएको आयोजकले जनाएको छ।








