सिन्धुपाल्चोक , साउन ३० –
पहिरोका कारण सिन्धुपाल्चोकको तातोपानी नाका झण्डै एक महिनादेखि बन्द हुँदा नेपाल–चीनबीचको आयातनिर्यात ठप्प भएको छ ।
बाह्रबिसे–कोदारी सडकखण्डका विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएपछि चीनबाट आउने सामान रोकिएका छन् । भन्सार अधिकृत दिपेन्द्रप्रकाश गिरीका अनुसार दशैँ–तिहार लक्षित सामग्री, स्याउ, लसुन तथा उद्योग निर्माणका सामान बोकेका कन्टेनर चिनियाँ क्षेत्रमा रोकिएका छन् ।
चिनियाँ क्षेत्रमा करिब ५०० र नेपालतर्फ कोदारीमाथि ४६ कन्टेनरमा गरी झण्डै २० अर्ब रुपैयाँ बराबरको सामान रोकिएको जनाइएको छ ।
नाकाबन्दीका कारण व्यवसायीसँगै ६४० मजदुर तथा ट्रान्सपोर्ट र भन्सारसम्बन्धी काम गर्ने करिब ३०० कामदार प्रभावित भएका छन् । व्यापारिक संघसंस्थाले तत्काल सडक मर्मत गरी तातोपानी नाका सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।







