वीरगंज नाकाबाट तीन वर्षमा ३७८ महिला तथा बालबालिकाको उद्धार

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन ३० –

वीरगंज नाकाबाट तीन वर्षको अवधिमा मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका ३ सय ७८ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ।

माइती नेपाल र प्रहरीको पहलमा आर्थिक वर्ष २०८०/०८१ देखि २०८२/०८३ सम्म उनीहरूको उद्धार गरिएको माइती नेपालकी पर्सा संयोजक गोमा पौडेलले जानकारी दिएकी छन्।

उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा १११ जना, २०८१/०८२ मा १६९ जना र गत आर्थिक वर्ष २०८२/०८३ मा ९८ जना महिला तथा बालिकाको उद्धार गरिएको छ।

गत आर्थिक वर्ष उद्धार गरिएका ९८ जनामध्ये ३४ जना ‘प्रेम सम्बन्ध’को बहानामा भारत जान लागेका थिए। यस्तै १५ जना घुम्ने, १२ जना नेटवर्किङ कम्पनीमा काम गर्ने, ११ जना आफू जाने ठाउँ र उद्देश्यबारे अनभिज्ञ तथा ९ जना सामान किन्न जाने बहानामा भारत जान लागेको पाइएको पौडेलले बताएकी छन्।

उद्धार गरिएका ९८ जनामध्ये मधेस प्रदेशका ५१ जना रहेका छन्। त्यसमध्ये पर्साका २०, बाराका १६, सर्लाहीका ७, रौतहट, धनुषा र सप्तरीका २/२ तथा सिराहाका १ जना रहेका छन्।

पौडेलका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमार्फत चिनजान गरी प्रेम सम्बन्धको बहानामा किशोरीहरूलाई भारत लैजाने जोखिम बढेको छ। सीमा नाकामा निगरानीसँगै सचेतनामूलक कार्यक्रमलाई पनि तीव्र बनाइएको उनले बताएकी छन्।

यसैगरी, सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि साउन १० गतेदेखि १६ सदस्यीय ‘बोर्डर इन्ट्रयाक्सन टिम’ परिचालन गरिएको जानकारी दिएका छन्। टोलीले वीरगंजसहित आसपासका ६ वटा नाकामा बिहान ५ बजेदेखि राति १२ बजेसम्म काम गरिरहेको उनले बताएका छन्।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा र पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

सम्बन्धित पोस्टहरुः