वीरगंज, ३० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति एवं पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले वीरगंजमा पर्यटकीय गतिविधि प्रवद्र्धन गर्न सर्लाहीको प्रसिद्ध भरत ताल जस्तै मानव निर्मित ताल निर्माण गरिदिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री गणेश पौडेलसमक्ष माग गरेका छन् ।
शनिवार वीरगंजस्थित क्लासिक ब्यान्क्वेटमा आयोजित स्थानीय नेता तथा कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा सांसद पन्तले मन्त्री पौडेल समक्ष उक्त प्रस्ताव राखेका हुन् ।
सांसद पन्तको आग्रहलाई सकारात्मक रूपमा लिँदै पर्यटन मन्त्री पौडेलले स्थानीय सरकारले ताल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराएमा संघीय सरकारले त्यसका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री पौडेलले वर्तमान सरकार मधेश प्रदेशको पर्यटन प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेर यहाका पर्यटकीय स्थलहरूको पहिचान र विकासमा जुटेको समेत स्पष्ट पारे।
रास्वपा पर्साका सभापति हरि पन्तको अध्यक्ष्Fतामा सम्पन्न भेटघाट तथा छलफल कार्यक्रममा रास्वपा मधेश प्रदेश सभापति तपेश्वर यादव, बाराका सांसदहरू गणेश धिमाल, अरविन्द साह, चन्दन सिंह लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री गणेश पौडेलले आफ्नो वीरगंज भ्रमणका क्रममा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेका छन ।
मन्त्री पौडेलले पर्सा राष्ट्रिय निकुञ्ज, प्रसिद्ध गढीमाई मन्दिर र सिम्रौनगढ क्षेत्रको अवलोकन तथा भ्रमण गरेका छन् ।
यसैगरी वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा संघका अध्यक्ष हरि गौतमको अध्यक्ष्Fतामा मन्त्री पौडेलले स्थानीय उद्योगी तथा व्यवसायीहरूसँग वीरगंजको पर्यटन प्रवद्र्धनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन।






