वीरगंज, भदौ २ —
वीरगंजबाट प्रकाशित हुँदै आएको प्रतीक दैनिकले आफ्नो ४०औँ वार्षिकोत्सव विभिन्न पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गर्दै मनाएको छ।
प्रतीक प्रकाशनका निर्देशक बिन्दु शर्माको अध्यक्षता तथा मधेस प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्री श्याम पटेलको प्रमुख आतिथ्यमा सोमबार वीरगंज महानगरपालिका–१५ स्थित ज्येष्ठ नागरिक पार्कको सभाहलमा वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सुबोध स्मृति पत्रकारिता पुरस्कारबाट सर्वराष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक महेशचन्द्र गौतमलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिएको छ। त्यस्तै स्वर्गीय चिरञ्जीवी कोइराला पत्रकारिता पुरस्कारबाट युवा पत्रकार अर्जुन चौधरी, प्रतीक दैनिकका स्तम्भकार डा. राजेन्द्र कोइराला, उत्कृष्ट रिपोर्टर चिरञ्जीवी सापकोटा र प्रेस स्टाफ विजयबहादुर श्रेष्ठ सम्मानित भएका छन्।
पाँचै जनालाई प्रमुख अतिथि मन्त्री पटेलले नगद तथा सम्मानपत्र प्रदान गरेका थिए भने प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले गम्छा र टीका लगाएर सम्मान गरेका थिए।
कार्यक्रममा प्रधान सम्पादक शर्माले पत्रकारिताको क्षेत्रमा चुनौती र समस्या बढ्दै गए पनि सूचना प्रवाह तीव्र बन्दै गएको बताए। उनले पत्रकारिता क्षेत्रका विकृति र विसंगति हटाउँदै यसलाई थप जिम्मेवार र मजबुत बनाउनुपर्नेमा जोड दिए।
प्रमुख अतिथि मन्त्री पटेलले प्रतीक दैनिकलाई वीरगंजको पत्रकारिताको इतिहास बोकेको सञ्चारमाध्यमका रूपमा चर्चा गर्दै जनतालाई सुसूचित गराउन यसको महत्वपूर्ण योगदान रहेको बताए। उनले वार्षिकोत्सव तथा सम्मानित हुने सबैलाई बधाई दिँदै पत्रकारिता क्षेत्रलाई थप सम्मानित र बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, उद्योगपति तथा साहित्यकार गणेश लाठ, ज्येष्ठ नागरिक संघका अध्यक्ष ई. बैजनाथप्रसाद कोइरीलगायत सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण पत्रकार धर्मेन्द्र चौरसियाले गरेका थिए।







