वीरगंज , भदौ २ —
पर्सामा अवैध गाँजाको कारोबार नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाए पनि मुख्य कारोबारी तथा नाइकेसम्म पुग्न नसक्दा गाँजा तस्करी नियन्त्रण चुनौतीपूर्ण बनेको छ।
मकवानपुरको मनहरी, लोथर तथा धादिङलगायत पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा भरियामार्फत पर्सा भित्र्याएर भारततर्फ तस्करी हुने गरेको स्थानीयको भनाइ छ। हेटौंडा–जीतपुर–सिमरा हुँदै जनता सडक तथा पर्सा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्र प्रयोग गरी गाँजा पर्साका ग्रामीण भेग हुँदै भारत पुर्याउने गरिएको बताइएको छ।
सखुवापरसौनी, पटेर्वासुगौली, जीराभवानी, जगरनाथपुर, विश्रामपुर, अमरपट्टि–झौवा, अठराहा सुगौली र ठोरीलगायत क्षेत्र गाँजा ओसारपसारमा प्रयोग हुने गरेको पाइएको छ। यसअघि जनता सडक आसपासका मिलनचोक, बडनिहार, मनवा र रंगपुर प्रहरी चौकीले विभिन्न सवारीसाधनबाट गाँजा बरामद गर्दै आएका थिए। पछिल्लो समय ती क्षेत्रमा बरामदगी घटेपछि प्रहरीको सक्रियतामाथि पनि प्रश्न उठ्न थालेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गाँजाको कारोबार संगठित रूपमा हुने भएकाले मुख्य कारोबारीसम्म पुग्न चुनौती रहेको बताए। उनका अनुसार कारोबारीले भरियामार्फत गाँजा ओसारेर विभिन्न स्थानमा भण्डारण गर्ने र सम्पर्कको ‘चेन ब्रेक’ गर्ने भएकाले नाइके पहिचान गर्न कठिन भइरहेको छ।
प्रहरीले विगतका कारोबारको विश्लेषण गर्दै गाँजा कारोबारीको सञ्जाल नै तोड्नेगरी अनुसन्धान अघि बढाएको भट्टराईले बताए। उनका अनुसार पछिल्लो १०–१५ दिनमा पर्साका विभिन्न तीन–चार स्थानबाट गाँजासहित केही व्यक्ति पक्राउ परेका छन्।
प्रहरीले भरियामा मात्र सीमित नभई गाँजा कारोबारको मुख्य सञ्जाल र त्यसका नाइकेसम्म पुग्नेगरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
बलिराम शुक्ला // प्रतिक दैनिक







