पर्सा , भदौ ३ —
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अघि तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा उनीहरूविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।
प्रकरणमा भक्तपुरको मध्यपुर थिमि निवासी ३३ वर्षीय सन्दीप सिंहलाई मुख्य अभियुक्त बनाइएको छ। उनीसँगै अतुलकुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेशप्रसाद यादव, खुश्बु गिरी, देवनाथ महतो र रञ्जुकुमारी गिरीलाई प्रतिवादी बनाइएको छ। अभियुक्तमध्ये केही अझै फरार रहेको जनाइएको छ।
गत साउन ६ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको ‘म्यानेजमेन्ट–५१५’ र साउन ८ गते सञ्चालन भएको ‘स्टाटिस्टिकल मेथड्स’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।
प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएको तथा परीक्षा सञ्चालनकै क्रममा सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनामाथि अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले ७ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो।





