वीरगंज , भदौ ३ —
भारतको बिहारस्थित मोतिहारी जिल्लाको सुगौली थाना क्षेत्रमा गाँजासहित एक नेपाली युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा, जितपुर उपमहानगरपालिका–१ निवासी रमाकान्त मुखियाका छोरा राजन मुखिया रहेका छन्।
सुगौली थानाका प्रभारी अनिशकुमार सिंहका अनुसार मंगलबार प्राप्त गोप्य सूचनाका आधारमा प्रहरीले विशेष निगरानी तथा कारबाही अघि बढाएको थियो। सोही क्रममा राजनलाई नियन्त्रणमा लिँदा उनको साथबाट ७५० ग्राम गाँजा बरामद भएको हो।
प्रहरीले बरामद गाँजा नियन्त्रणमा लिएर पक्राउ परेका युवकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सुगौली प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राजन जितपुर क्षेत्रबाट गाँजा लिएर भारतीय भूमिमा प्रवेश गरेका थिए। नेपाल–भारत सीमाबाट करिब ३५ किलोमिटर भारतीय भूभागभित्र पुगेपछि उनी पक्राउ परेका हुन्।
खुला सीमाका कारण नेपाल–भारत सीमावर्ती क्षेत्रमा लागुऔषध तथा अवैध वस्तुको ओसारपसार नियन्त्रण चुनौतीपूर्ण बन्दै आएको छ।
पछिल्लो घटनाले सीमाबाट हुने लागुऔषध ओसारपसार नियन्त्रणका लागि थप निगरानी र सुरक्षा सतर्कता आवश्यक देखाएको छ।






