वीरगंज, भदौ ४ — जेन जी पर्साले महिला तथा बालिकामाथि हुने बलात्कार, यौनजन्य हिंसा र दुर्व्यवहारका घटना नियन्त्रणका लागि कडा कानुनी व्यवस्था गर्न माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको ध्यानाकर्षण गराएको छ।
जेन जी पर्साका संयोजक महादेवप्रसाद कुर्मीले प्रमुख जिल्ला अधिकारी दाहाल समक्ष बुझाएको ध्यानाकर्षणपत्रमा बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय हुने गरी कानुन संशोधन गर्न माग गरिएको छ। त्यसका लागि संविधान संशोधन गरी आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ।
ध्यानाकर्षणपत्रमा पछिल्लो समय महिला, बालिका तथा किशोरीमाथि बलात्कार र यौनजन्य हिंसाका घटना बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ। बाराको सिमरामा तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरिएको घटनाले आफूहरूलाई थप गम्भीर बनाएको जेन जी पर्साले जनाएको छ।
त्यस्तै, पर्सा जिल्लाका सार्वजनिक स्थल, विद्यालय तथा कार्यक्षेत्रमा महिला, किशोरी र बालिकाको सुरक्षाका लागि सुरक्षा गस्ती र निगरानी प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरिएको छ।
जेन जी पर्साले बलात्कारपछि हत्या गरिएकी बालिकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।






