गरिमा बलात्कार तथा हत्या प्रकरण : दोस्रो दिन पनि वीरगंज–पथलैया सडक अवरुद्ध

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ ५ –

तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले थालेको आन्दोलन दोस्रो दिन पनि रोकिएको छैन। आन्दोलनकारीले इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिलिप क्षेत्रीलाई निलम्बन गरी छानबिन गर्नुपर्ने माग राख्दै वीरगंज–पथलैया सडकखण्ड अवरुद्ध गरेका छन्।

सडक अवरुद्ध भएपछि वीरगंज–पथलैया औद्योगिक करिडोरको यातायात व्यवस्था प्रभावित भएको छ। मुख्य सडकमा सवारी आवागमन ठप्प हुँदा सयौँ सवारीसाधन तथा यात्रु बाटोमै रोकिएका छन्। लामो समयदेखि सडक अवरुद्ध हुँदा औद्योगिक तथा व्यापारिक गतिविधिसमेत प्रभावित बनेका छन्।

जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुरेकी गरिमा साउन ३१ गतेदेखि बेपत्ता भएकी थिइन्। परिवारले तत्काल प्रहरीलाई खबर गर्नुका साथै शङ्कास्पद व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको थियो। तर बालिकाको खोजीमा प्रहरीले गम्भीरता नदेखाएको पीडित परिवार र स्थानीयवासीको आरोप छ।

मङ्गलबार साँझ घरनजिकैको सुनसान भवनबाट दुर्गन्ध आएपछि स्थानीयवासीले खोजी गर्दा बालिकाको अर्धनग्न शव फेला पारेका थिए। शव भेटिएपछि मात्र प्रहरीले अनुसन्धानमा सक्रियता देखाएको र जाहेरीमा नाम उल्लेख भएका दुई जनालाई नियन्त्रणमा लिएको स्थानीयको दाबी छ।

प्रहरीको कथित ढिलासुस्ती र लापरबाहीका कारण बालिकाको ज्यान गएको आरोप लगाउँदै स्थानीयवासीले प्रहरी नेतृत्वलाई समेत जिम्मेवार ठहर गरेका छन्। उनीहरूले डीएसपी क्षेत्रीलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग अघि सारेका छन्।

सडक अवरोध खुलाउने विषयमा जिल्ला प्रशासन कार्यालय र आन्दोलनरत पक्षबीच बुधबार रातिसम्म पटक–पटक वार्ता भए पनि सहमति जुट्न सकेन। आन्दोलनकारीले डीएसपी निलम्बनलाई मुख्य सर्त बनाएपछि वार्ता निष्कर्षविहीन भएको हो।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले डीएसपीलाई निलम्बन गर्ने माग जिल्ला प्रशासनको अधिकार क्षेत्रभन्दा बाहिर रहेको बताए।

उनका अनुसार बुधबार राति ११ बजेसम्म भएको छलफलमा आन्दोलनकारीले डीएसपी निलम्बनको अडान कायमै राखेका थिए। प्रशासनले वार्तामार्फत समस्या समाधान गरी सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जनाएको छ।

तर आन्दोलनकारीले भने माग सम्बोधन नभएसम्म सडक अवरोधसहितको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

सडकखण्ड लामो समय अवरुद्ध हुँदा वीरगंज–पथलैया औद्योगिक करिडोरका उद्योग तथा व्यवसायसँगै मालवाहक र सार्वजनिक यातायातमा समेत प्रत्यक्ष असर परेको छ।

सम्बन्धित पोस्टहरुः