पर्सा , भदौ ६ —
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापार बढेको छ। भन्सार विभागका अनुसार साउनमा आयात र निर्यात दुवै बढेसँगै कुल वैदेशिक व्यापार २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ।
साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँको वस्तु आयात भएको छ भने ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको विभागले जानकारी दिएको छ।
गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्ष आयात ३१.०४ प्रतिशत र निर्यात ६१.७४ प्रतिशतले बढेको छ। गत वर्षको साउनमा १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख रुपैयाँको आयात र २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँको निर्यात भएको थियो।
विभागका अनुसार साउनमा सबैभन्दा धेरै कच्चा भटमासको तेल १८ अर्ब ४० करोड ४२ लाख रुपैयाँको आयात भएको छ। त्यस्तै डिजेल १३ अर्ब ८५ करोड ४५ लाख, खाना पकाउने ग्यास ८ अर्ब ४६ करोड ९२ लाख र कच्चा सनफ्लावर तेल ३ अर्ब ५७ करोड ६२ लाख रुपैयाँको आयात भएको छ।
निर्याततर्फ प्रशोधित भटमासको तेल १७ अर्ब ९९ करोड ३४ लाख रुपैयाँको भएको छ। यस्तै पाम तेल १ अर्ब २९ करोड २९ लाख र सनफ्लावर तेल १ अर्ब २० करोड ७५ लाख रुपैयाँको निर्यात भएको विभागले जानकारी दिएको छ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८२.८९ प्रतिशत र निर्यातको हिस्सा १७.११ प्रतिशत रहेको विभागले जनाएको छ।







