काठमाडौं —
बाराकी तीन वर्षीया बालिकाको हत्या घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच ३ बुँदे सहमति भएको छ।
गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीको उपस्थितिमा भएको छलफलपछि सरकार र पीडित परिवारबीच सहमति भएको हो।
सहमतिअनुसार जघन्य अपराधमा कसूर र सजायसम्बन्धी विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गरी आवश्यक कानुन निर्माणका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्न सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिने भएको छ।
त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार मृतक बालिकाको शालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी पहल गर्ने सहमति भएको छ।
सहमतिको अर्को बुँदामा मृतक बालिकाका अभिभावकले आफ्नो रीति र संस्कारअनुसार अन्त्येष्टि कार्य सम्पन्न गर्ने उल्लेख छ।
सम्झौतापत्रमा सरकारका तर्फबाट सम्बन्धित मन्त्रीहरू तथा पीडित परिवारका तर्फबाट मृतक बालिकाकी बुवा र आमाले हस्ताक्षर गरेका छन्।






