पर्सा, भदौ ७ —
पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित प्रहरी चौकीकै अगाडि घरेलु मदिरा उत्पादन भइरहेको स्थानीयले आरोप लगाएपछि प्रहरीको निगरानीमाथि प्रश्न उठेको छ।
स्थानीयका अनुसार रंगपुरसँगै पटेर्वा सुगौलीका भाथा, रामभौरि, चाफी, सखुवा प्रसौनी–२ थापाटाडी, जिराभवानीका विभिन्न गाउँ तथा पर्सागढी नगरपालिका–३ बढनिहार माथीटोल र झबराहालगायत क्षेत्रमा घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण हुने गरेको छ।
उत्पादित मदिरा साइकल, मोटरसाइकल तथा स्कुटरमार्फत पर्सा र बाराका विभिन्न गाउँ तथा बजारमा पुर्याउने गरिएको स्थानीयको दाबी छ। केही स्थानीयले प्रहरी युनिटलाई ‘महिनवारी’ बुझाएर कारोबार सञ्चालन हुने आरोपसमेत लगाएका छन्। यद्यपि, उक्त आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
प्रहरी चौकीकै अगाडि समेत भट्टी सञ्चालन भइरहेको भनिएपछि प्रहरीले सूचना पाएर पनि प्रभावकारी नियन्त्रण नगरेको हो कि भन्ने प्रश्न उठेको स्थानीयको भनाइ छ।
यसअघि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा प्रहरी निरीक्षक आशिष अधिकारी कार्यरत रहँदा घरेलु मदिराविरुद्ध नियमित छापा मारेर ठूलो परिमाणमा मदिरा नियन्त्रण तथा नष्ट गरिएको स्थानीयले बताएका छन्। तर पछिल्लो समय प्रहरी निरीक्षक परिवर्तन भइरहे पनि अवैध मदिरा कारोबार नियन्त्रणमा प्रभावकारी अभियान नदेखिएको उनीहरूको गुनासो छ।
यता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले प्रहरीले घरेलु मदिराविरुद्ध कडाइका साथ निगरानी गरिरहेको बताएका छन्। उनका अनुसार गत महिना मात्रै प्रहरीले करिब ५ हजार लिटर घरेलु मदिरा नष्ट गरेको थियो।
डीएसपी मल्लले अवैध रूपमा घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण भइरहेको भेटिए तत्काल छापा मारेर मदिरा नष्ट गर्नुका साथै संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही गरिने बताएका छन्।
स्थानीयले भने प्रहरी चौकीकै अगाडि भट्टी सञ्चालन भइरहेको भनिएको विषयमा स्थलगत अनुगमन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले उत्पादनस्थलमा मात्र नभई मुख्य कारोबारी र अवैध कारोबारको सञ्जाल पहिचान गरी कारबाही गर्न प्रहरीसँग माग गरेका छन्।






