सिमरा हत्या प्रकरण : चार दिनपछि खुल्यो वीरगंज–पथलैया सडकखण्ड

1200x150_1200x150-01.jpg (1)

बारा, भदौ ७ —

तीन वर्षीया बालिकाको हत्या घटनाको विरोधमा गत बुधबारदेखि बन्द रहेको वीरगंज–पथलैया सडकखण्डअन्तर्गत सिमरा दशधुरे क्षेत्र आइतबार बिहानदेखि सञ्चालनमा आएको छ।

मृतकका परिवार र स्थानीयवासीले सडकमा टेन्ट टाँगेर गर्दै आएको आन्दोलन शनिबार राति फिर्ता भएपछि आइतबार बिहानदेखि सवारीसाधन चल्न थालेका हुन्।

आन्दोलनका कारण रोकिएका मालवाहक सवारीसाधन राति नै गन्तव्यतर्फ लागेका थिए। आइतबार बिहानदेखि लामो तथा छोटो दूरीका यात्रुवाहक र मालवाहक सवारीसाधनसमेत नियमित रूपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गत आइतबार घरबाट बेपत्ता भएकी थिइन्। उनको शव दुई दिनपछि मंगलबार साँझ स्थानीयको खाली घरमा फेला परेको थियो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

घटनाको विरोधमा स्थानीयवासीले दोषीलाई कडा कारबाहीसहित विभिन्न माग राख्दै बुधबारदेखि सडक अवरुद्ध गरेका थिए। आन्दोलन देशव्यापी बनेपछि मृतकका आमाबुबा गृहमन्त्री सुदन गुरुङको आह्वानमा वार्ताका लागि काठमाडौं पुगेका थिए।

गृह मन्त्रालयमा शनिबार मध्यराति सरकार र पीडित परिवारबीच तीन बुँदे सहमति भएपछि आन्दोलन फिर्ता लिने निर्णय भएको हो। सहमतिको जानकारी पाएपछि स्थानीयवासीले राति करिब १ बजे सडकबाट धर्ना हटाएपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः