पर्सा, भदौ ७ —
नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने ट्रम्प प्रशासनको नीति अमेरिकी अदालतले खारेज गरेको छ।
न्युयोर्कस्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश जेनेट वर्गासले शुक्रबार उक्त नीति कानुनविपरीत रहेको ठहर गर्दै खारेज गरेकी हुन्। उनका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई यस्तो किसिमको सामूहिक रूपमा भिसा रोक्ने अधिकार कानुनले नदिएको देखिएको छ।
अमेरिकी विदेश मन्त्रालयले जनवरी २१ देखि नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा प्रक्रिया अनिश्चितकालका लागि रोक्ने नीति लागू गरेको थियो। उक्त नीतिको आधारमा राष्ट्रियताकै आधारमा भिसा रोकिएको भन्दै अदालतमा चुनौती दिइएको थियो।
अदालतको पछिल्लो निर्णयसँगै उक्त नीति खारेज भएको छ। यद्यपि, अमेरिकी सरकारले अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्न सक्नेछ।
यो निर्णयले नेपालसहित प्रभावित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रियामा लगाइएको सामूहिक रोक हटाउने बाटो खुलेको छ।







