जेनजी आन्दोलन हाइज्याक भएकै कारण देश अघि बढ्न सकेन : प्रभु साह

1200x150_1200x150-01.jpg (1)

ललितपुर , भदौ ७ —

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलन वेवारिसे र हाइज्याक भएकै कारण देशले अपेक्षित गति लिन नसकेको बताएका छन्।

ललितपुरको कुपण्डोलमा आइतबार आयोजित ९ दलीय अग्रगामी मोर्चाको युवा, महिला तथा मिडिया एवं आईटी मोर्चाको बैठकलाई सम्बोधन गर्दै साहले जेनजी आन्दोलनका माग सम्बोधन हुन नसकेको बताए।

उनले युवाहरूले बेथितिविरुद्ध आवाज उठाउँदै व्यवस्था परिवर्तनको माग गरे पनि आन्दोलनलाई सही दिशा दिने नेतृत्वको अभाव भएको दाबी गरे। आन्दोलनको भावनालाई सत्तास्वार्थका लागि हाइज्याक गरिएको आरोप लगाउँदै उनले पात्र परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसकेको बताए।

साहले राज्यले महिलालाई जनसंख्याको अनुपातमा अधिकार र सहभागिता दिनुपर्ने बताए। नेपालमा महिलाको जनसंख्या ५१ प्रतिशत रहे पनि ३३ प्रतिशत मात्र सहभागिताको व्यवस्था हुनु विभेदकारी भएको उनको भनाइ छ।

उनले राज्यका सबै अंगमा महिलालाई जनसंख्याको अनुपातमा समान सहभागिता सुनिश्चित गर्नुपर्ने बताए।

वर्तमान सरकार सुशासन, रोजगारी र सामाजिक न्यायका सवालमा असफल हुँदै गएको आरोप लगाउँदै साहले जनअपेक्षा पूरा नभएसम्म अग्रगामी मोर्चा र आजपाले सडकबाट निरन्तर दबाब दिइरहने चेतावनी दिए।

सम्बन्धित पोस्टहरुः