१५ वर्षदेखि अलपत्र कमला पुल, डुंगाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य यात्रु

1200x150_1200x150-01.jpg (1)

सिरहा , भदौ ८—

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन पक्की पुल १५ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। पुल निर्माण अलपत्र पर्दा स्थानीय बासिन्दा तथा यात्रुहरू जोखिम मोलेर डुंगामार्फत नदी वारपार गर्न बाध्य छन्।

पुल सञ्चालनमा नआउँदा हुलाकी राजमार्ग हुँदै सिरहा, धनुषालगायत मधेसका विभिन्न जिल्लाबीच सहज यातायात हुन सकेको छैन। विशेषगरी वर्षायाममा नदीको बहाव बढ्दा समस्या झनै जटिल हुने गरेको स्थानीयले बताएका छन्।

यात्रुहरूले कमला नदी वारपार गर्न डुंगाको प्रयोग गर्दै आएका छन्। एक पटक नदी पार गरेबापत करिब एक सय रुपैयाँसम्म तिर्नुपर्ने यात्रुहरूको गुनासो छ। मोटरसाइकल तथा अन्य सवारीसाधनसमेत डुंगाबाटै पार गर्नुपर्ने भएकाले जोखिम बढेको उनीहरूले बताएका छन्।

पुल निर्माण सम्पन्न भए हुलाकी राजमार्ग हुँदै आवतजावत, व्यापार–व्यवसाय तथा कृषि उपजको ढुवानी सहज हुने अपेक्षा गरिएको थियो। तर निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयको वर्षौंदेखिको अपेक्षा पूरा हुन सकेको छैन।

स्थानीयले पुल निर्माणमा देखिएका समस्या तत्काल समाधान गरी काम अघि बढाउन र निर्धारित समयभित्र निर्माण सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले विकास आयोजनामा हुने ढिलाइका लागि जिम्मेवार पक्षलाई जवाफदेही बनाउनसमेत माग गरेका छन्।

१५ वर्षदेखि निर्माणाधीन कमला पुल कहिले सम्पन्न हुन्छ भन्ने अन्योल कायमै रहँदा यात्रुहरू भने अझै जोखिम मोलेर डुंगाको सहारामा नदी पार गर्न बाध्य छन्।

सम्बन्धित पोस्टहरुः