रसुवा बाढीपछि उद्धारमा तीव्रता, सुरक्षाकर्मी र हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ १० —

रसुवामा आएको बाढीपछि सरकारले उद्धार, राहत तथा खोजी कार्यलाई तीव्र बनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रको अवस्था हेरेर अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी पठाइएको छ। विपद् व्यवस्थापन प्राधिकरणले मेडिकल टोली, नेपाल स्काउट, नेपाल रेडक्रसलगायतका निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्य अघि बढाइरहेको छ।

प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा स्वास्थ्यकर्मी पठाउने तयारीसमेत भइरहेको जनाइएको छ। बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ। स्थानीयवासीलाई एसएमएस तथा फोनमार्फत सतर्क गराउँदै सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

सम्भावित उद्धारका लागि उपलब्ध हेलिकप्टरहरू प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको छ। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न आग्रह गरिएको छ। केही निजी हेलिकप्टर प्रभावित क्षेत्रमा पुगिसकेको जनाइएको छ।

बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत व्यवस्थापनका लागि आगामी आवश्यक कदमबारे निर्णय गर्न उच्चस्तरीय बैठकसमेत बोलाइएको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रधानमन्त्रीले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा उद्धारसम्बन्धी आधिकारिक सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेका छन्।

उद्धार तथा राहतसम्बन्धी जानकारीका लागि १२३४, १०० र ११११ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

सम्बन्धित पोस्टहरुः