रसुवा , भदौ १० —
रसुवाको सीमावर्ती टिमुरे क्षेत्रमा बाढी तथा पहिरोपछि ड्युटीमा खटिएका ९ जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।
बाढी र पहिरोका कारण टिमुरे क्षेत्रको सञ्चार सेवा तथा सडक सम्पर्क विच्छेद भएपछि सुरक्षाकर्मीसँग सम्पर्क स्थापित गर्न तथा खोजी–उद्धार कार्य अघि बढाउन कठिनाइ भएको जनाइएको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सम्पर्कविहीन सुरक्षाकर्मीहरूसँग निरन्तर सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको जनाएको छ। उनीहरूको अवस्था यकिन हुन नसकेको र खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको छ।
यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढी प्रभावित क्षेत्रमा हवाई तथा स्थलमार्गबाट थप सुरक्षा जनशक्ति र मेडिकल टोली परिचालन गरिएको जानकारी दिएका छन्।
बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको जनाइएको छ। सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा घटनाको थप विवरण आउन बाँकी रहेको छ।






